म केही भन्नु अगि सम्पूर्णलाई एउटा प्रश्न गर्न चाहान्छु । कसैले भन्न सक्नुहुन्छ महिलाको जीवनमा कुन उमेरदेखि उ माथि हिंसा सुरु हुन्छ र कहिलेसम्म हुन्छ भनेर ? यहा जवाफ नदिएपनि यो प्रश्नलाई गहन मनन भने अवश्य गर्नुहोला । हामी तीन बहिनी छौ, म माहिली छोरी । भाग्यवश मेरो परिवारमा महिला हिंसा मेरी आमाको गर्भदेखि सुरु भएन नत्र म हुदैनथे, मेरी वहिनी हुदैनथी या भनौ हामी तीन बहिनी नै हुदैनथेउ । किनभने जब आमाको गर्भमा छोरी छ भन्ने कुरा पहिचान हुन्छ नि उसलाई त्यही पेटमै मारिन्छ र यसरी सुरु हुन्छ महिला हिंसा । एउटा दुर्भाग्य विषय जसको अस्तित्व नै नहुनुपर्ने तर अहिले त्यो राष्ट्रिय बहस बनेको छ , महिला हिंसा । महिला माथि जानेर बुझेर गरिने कुनै पनि शारिरीक, मानसिक, सामाजिक हिंसालाई महिला हिंसा भन्ने गरिन्छ । झन्डै ३५% महिलाले आफ्नै लोग्नेबाट शारिरीक वा यौन हिंसा भोगीरहेका छन् । त्यसैगरी बाहिर नआएका दबाइएका केस त कति होलान् कति । बलात्कारमा मिलापत्रका खबर नआएका पनि त पक्कै होइनन् । १३ बर्षीया निर्मला पन्त, ६ बर्षीया गुलाब खातुनले कहिले न्याय पाउलान् त ? यो सोच कहाँबाट आउछ , किन लोग्नेमान्छलाई लाग्छ कि उनीहरुको जन्मसिद्ध अधिकार हो, उनीहरु हत उठाउन सक्छन्, एसिड छ्याप्न सक्छन् , जे मन लाग्यो त्यही गर्न सक्छन् । यो मानसिकता थोरै बुझ्न कोसिस गरौ है त । यस्तो सोचलाई हामी भन्छौ पितृसत्तात्मक सोच । पितृसत्ता एक सामाजिक प्रणाली हो जसले महिलालाई कमजोर अनि पुरुषलाई बलियो सम्झन्छ । तपाई को माथि हात उठाउन सक्नुहुन्छ ? कोही पुरुषले आफ्नो हाकिम माथि हात उठाउदैन । आफूभन्दा सिनीयरमा उसको हात कहिल्यै उठ्दैन । हात हाम्रो उ माथि उठ्छ जसलाई हामी कमजोर सम्झन्छौ । त्यसपछि आयो हाम्रो परम्परा , रक्षाबन्धनमा भाइले उठेर भन्छ म तेरो रक्षा गर्छु । अरे म तेरो रक्षा १५ बर्षदेखि गर्दैछु जबदेखि तेरो नाक बग्न सुरु भयो । तर मलाई त्यही ठाउँमा ल्याएर उभाईन्छ अनि भनिन्छ कि त कमजोर छेस् तेरो रक्षा भाईले गर्छ । त्यस्तै अर्को उदाहरण , तीजको व्रत । यो व्रत महिलाले आफ्नो लोग्नेको सुस्वास्थ्य अनि दीर्घायुको लागि राख्छन् । यदि यस्तो हो भने त अमेरिकामा सबै लोग्नहरु मर्नुपर्ने । उनीहरु त तीजको व्रत बस्दैनन् । तर पनि त्यहाका पुरुषको औषत आयु नेपालका पुरुषको भन्दा धेरै छ । यस्तो सोचलाई कसरी बदल्ने त ? जहाँसम्म महिलाको कुरा छ, यो काम भइरहेको छ बर्षाैदेखि । तर अबको समयदेखि पुरुष बद्लिनुपर्छ । किनभने मार्छ कसले ? पुरुषले । धेरै हिंसा कसले गर्छ समाजमा ? पुरुषले । के पुरुषहरु यस्तै हिंसात्मक जन्मिएका हुन् त ? यदि यस्तो हुन्थ्यो भने संसारमा न बुद्ध हुन्थे न महात्मा गान्धीे । हामी भन्छौ कि छोरा मान्छे रुनु हुदैन । आमा मर्छिन् तर पुरुष रुदैनन् । पुरुषले दुनियाको सबै विषयमा कुरा गर्लान् तर आफ्नोमाथि खासगरि आफ्नो कमजारीको बयान गर्दैनन् । किनभने पुरुष भनेको , मर्द भनेको कमजोर नहुनु , नदेखिनु हो रे । मैले यो बुझ्दै छु कि , पितृसत्ताले मानबता खोसिराछ । अब प्रश्न उठ्न सक्छ कि आफमाथि हिंसा हुदापनि महिला किन चुप छन् त । खासमा जुन कुवाबाट पुरुषले पानी पिइराछन् त्यही कुवाबाट हामी महिलाले पनि पिइराछौ । यदि पुरुष पितृसत्तात्मक छन् भने हामी महिला पनि पितृसत्तात्मक छौ । किनभने हामीलाई पनि त यहि सिकाइएको छ । हाम्रो धर्मले यही सिकायो , हाम्रो परम्पराले यही सिकायो । त्यसैले हामी महिलाले पनि यही सम्झन्छौ कि हामी कमजोर छौ । मलाई यही लाग्छ कि दोष महिला या पुरुषको होइन , दोष पितृसत्तात्मक सोचको हो । कति महिलाले यो भन्छन् कि उ मेरो लोग्ने हो , मलाई माया गर्छ , मायामा पिटेको हो । उसको अधिकार छ म माथि । यसको मतलब त यो भयो कि हामी पुरुषलाई माया नै गर्दनौ । यदि मायाकै कुरा हो भने उति नै पिटौ जति उसले हामीलाई पिट्छ अझ बढी नै पिटौ न । यो पनि सुन्नमा आउँछ कि कति पुरुषले यो पनि सोच्छन् कि , हामी दिनभरी काम गरेर आउँछौ , थाकेर आउछौ । अनि कामको तनाब घरमा आएर पोखिन्छ । श्रीमति माथि, हाम्रो हात उठ्छ । तर अहिलेसम्म जति पनि रिसर्च भएको छ उसले भन्छ कि महिलाले पुरुष भन्दा धेरै घण्टा काम गर्छन् । हामी हरेक घरमा देख्न सक्छौ , को पहिले उठ्छ ? अनि को ढिला सुत्छ । महिला पुरुष भन्दा ५ , ६ , ७ घण्टा बढि काम गर्छन् । यो अन्तराष्ट्रिय श्रम संस्थाले गरेको रिसर्च हो । कोही थाकेको छ त महिला थाकेकि छ । साथै उसले बच्चा जन्माउछे , उसलाई हुर्काउछे , सम्हाल्छे । यति भावनात्मक जिम्मेवारी छ उसको । कति पुरुषले यो पनि भन्छन् कि हामी पैसा कमाएर ल्याउछौ घरमा , यसकारण उनीहरुको हक हुन्छ हात उठाउन । तर कुरा के हो भने नि, उसले पैसा ल्याउछ बच्चा पैसा खादैनन् खाना खान्छन् । बच्चा पैसामा सुत्दैनन् बच्चा बिस्तारामा सुत्छन् । महिला त्यो पैसा खाना बनाउछे , त्यो पैसाको बिस्तारा बनाउछे । महिला पुरुष जब मिलेर काम गर्छन् नि तब परिवार बन्छ , तब देश बन्छ । अर्को कुरा यो महिलाको मेहेनत हो कि उसले पुरुषलाई अर्को दिन काममा जाने लायक बनाउँछे । जब साँझ पुरुष थाकेर आउछ , अफिसबाट बेइज्जत भएर आउँछ अनि महिलाले उसको चोट लागेको अहम्मा मलम लगाउँछे , खाना खुवाउँछे , माया दिन्छे , राती उसको मन भुलाउछे । अनि दोस्रो दिन उ काममा जान सक्छ । महिलाको यी काम बिना पुरुष नाकाम छ । जब तपाइहरु मायाले बसेको तपाईको बच्चाले देख्छ उ दानव होइन मानब बन्छ । प्रकृतिले महिला पुरुषमा एउटा ठूलो फरक बनाइदिएको छ । महिला आफ्नो पेटभित्र बच्चा राख्न सक्छे । उ सँग बच्चादानी छ , पाठेघर छ र बच्चालाई खुवाउनका लागी दुध छ । पुरुष बिचरामा यी दुई कुरा छैन । यो बाहेक प्रकृतिले पुरुष महिलामा कुनै फरक बनाएको छैन । हामी सबैको दुईवटा हात छ । खाना बनाउने , कपडा धुने , भाडा माझ्ने , बच्चा हुर्काउने दुबैले गर्न सक्छन् । प्रकृतिले यो फैसला गरेको छैन कि को काम कसले गर्ने । यो त धेरै जान्ने भएर हामीले आफै गरेउ । यदि प्रकृतिको कुरा गरेउ भने बुद्धले नि बच्चा जन्माउन सक्दैनन् , यो हो प्रकृति । तर बुद्ध करुणामय हुन सक्छन् , ममतामय हुन सक्छन् । किनकी यसको सम्बन्ध प्रकृतिसँग छैन महिला पनि निर्दयी हुन्छन् , हुन सक्छन् । एउटी महिला सासु बनिन् भने हरेक किसिमको अन्याय गर्न सक्छिन् बुहारीलाई । त्यसैले त भनिन्छ जब पावर आउँछ हिंसा हुनसक्छ , अन्याय हुन सक्छ । हिंसाले महिलामा असर त गर्छ नै तर यो पनि बुझौ कि जो पुरुष हिंसा गर्छ उसको कति धेरै नोक्सानी हुन्छ । उसको मानवता मरिसक्यो । जो पुरुष आफ्नो श्रीमती माथि हात उठाउन सक्छ , उ भित्र केही मरेको होला तब मात्र उ हात उठाउन सक्छ । जो मान्छे ६ महिना , ६ बर्ष कि बच्चीको बलत्कार गर्न सक्छ भने उसको भित्र केही मरीसकेको होला । न त आफ्नो भावनासँग सम्बन्ध बच्यो , न आफ्नो शरिरसँग सम्बन्घ छ , न आफ्नो आउने पिडीसँग सम्बन्घ छ । को सँग सम्बनध छ त उसको ? सत्ता सँग ? सत्ता ठूलो कि मानवता ? जब कसैको रेप हुन्छ हामी भन्छौ कि यसको ईज्जत गयो । अरे उसको इज्जत कसरी गयो ? उसको योनीमा कसले राखेको थियो ईज्जत ? यो पितृसत्ता सोच हो कि म माथि रेप भयो भने मेरो ईज्जत गयो , मेरो घरको इज्जत गयो , समाजको ईज्जत गयो । यदि कसैको ईज्जत जान्छ त बलत्कारीको ईज्जत जान्छ , हाम्रो होइन । घरेलु हिंसालाई रोक्न के गर्न सकिन्छ त ? सर्वप्रथम त छोरीलाई यसरी पालौ कि उनीहरु आफ्नो इज्जत सम्झिउन् , अरु मान्छेहरु उनलाई ईज्जत गरुन् । उनीहरुलाई यसरी मजबुत बनायौ कि डरको कारणले कुनै वैवाहिक सम्बन्घमा दबिएर , पिटिएर नबसुन् । यदि उसको घरमा उ माथि पिटाई भईरहेको छ , बईज्जत भइरहेको छ भने छातीमा हात राखेर भनौ कि छोरी त घर आइज, तेरो घर छ नि । जब कहि कतै छोरीले पिटाइ खादै हुन्छे भने देश रोईरहेको हुन्छ । इज्जत देशको घटिरहेको हुन्छ । यसको लागी कडा कानुन बनाउने , फासी दिने यो कुरा चित्त बुझ्दैन मलाई कताकता डर लाग्छ । किनकि म विश्वास गर्न सकिरा छैन यो सरकारमाथि , यो सिष्टम माथि । यदि अपराध १ , २ % छ भने हामी सजाय दिन सकौला । तर ३० , ४० % छ भने ? के गर्ने ३०% लाइ फासी दिने । यो त रेप भन्दा पनि नराम्रो हुनेछ । हामीलाई लाग्छ कि सजायले रोकथाम गर्छ , केही हदसम्म गर्छ सायद । तर धेरै मानिसलाई गर्दैन , उनीहरु अझ बढि सतर्क भएर गर्नैछन् । महत्वपूर्ण कुरा रेप होइन , महत्वपूर्ण कुरा यो हो कि हामी कसरी , कस्तो प्रकारको मानवलाई हुर्काउदै छौ । बच्चा हुर्किने पहिलो स्थान घर हो , अनि समाज , अनि स्कुल हो । सुरुवात यहीबाट गरौ । मानव बन्ने सुरुवात आफुबाट गरौ आफ्नाबाट गरौ । विश्वास गरौ भोली समाज , देश पनि पक्कै सुघ्रिनेछ । (लेखक गण्डकी मेडिकल कलेज, पोखरामा अध्यनरत विद्ध्यार्थी हुन् )